निबन्ध  /  Essay

यात्रा सिंहासनको

यो कथा हो यात्राको, यस्तो यात्रा जुन गन्तव्यबाट शुरु भएको थियो, गन्तव्यकै बाटो भएर प्रगति हुँदैछ अनि गन्तव्यमा नै समाप्त हुनेछ। यात्रा समाप्त भएको छैन तर शुरु अवश्य भइसकेको छ। म त्यहीँ छु तर दूरी काटिँदैछ अनि यात्रा जारी छ।

म हुँ यात्री। न यो यात्रा मेरो स्वेच्छा थियो, न मेरो परिश्रम नै। तर म यात्री अवश्य हुँ। यो यात्रा हो सिंहासनको। रिक्त सिंहासनबाट शुरु भएको यो यात्रा त्यस सिंहासनको स्वामी त्यसमा विराजमान भएको साक्षात्कार भएपछि मात्र अन्त हुनेछ। यात्राको बाटो आफै निर्माण भइरहेछ अनि मेरो कर्तव्य त्यसमा हिँड्नु मात्र हो।

यो यात्रा त्यसै क्षण शुरु भएको थियो जब सर्वप्रथम मैले पूजा घरमा एउटा सुन्दर सिंहासनमा केशको मुकुट धारण गर्नुभएको जगतसम्राट आनन्दसाथ विराजमान हुनुभएको तस्वीर देखेको थिएँ। मैले सुनेको थिएँ कि ती सम्राटलाई उनको राजधानी प्रशान्ति निलयममा त्यसरी नै विराजमान भएको प्रत्यक्ष देख्न पाइन्छ। गहन सम्भावना बोकेर आएको यस तथ्यको कारण त्यो दृश्य देख्ने इच्छा मेरो हृदयको अन्तःकरणमा त्यसै समय गहिरो गाडिएको थियो। तर मलाई के थाहा कि एउटा अदृश्य शक्तिले मेरो जीवनको गतिलाई पनि त्यसै दिशामा आकर्षित गरिरहेको थियो।

सम्राटलाई मसँग आफ्नो परिचय साट्ने मन भयो क्यार, म बाल विकासमा भर्ना हुनपुगेँ। त्यहाँ सुन्न पाएका उहाँका लीलाहरूले बिस्तारै मेरो हृदय भरिन थाल्यो। उहाँको मन्दिरमा उहाँकै निम्ति सजाइएको सिंहासनको दर्शन पनि पाउन थालेँ तर त्यसमा उहाँ स्वयम् विराजमान भएको दृश्य भने काल्पनिक मनमै सीमित थियो। सबै विश्वास गर्थे—अदृश्य रूपमा उहाँ त्यहाँ पनि विराजमान हुनुहुन्छ भनेर तर मेरो नयन त्यस भव्य दृश्यको स्वयम् अवलोकन गर्न चाहन्थ्यो। यसरी उमेर सँगसँगै मेरो यो मृगतृष्णा पनि छिप्पिँदै गइरहेको थियो। उहाँको लीला अपरम्पार छ। अब यस तथ्यको विश्वास भइसकेको छ मलाई। मेरो जीवनमा पनि उहाँ यस्तै लीला रच्दै हुनुहुन्थ्यो तर म भने यस कुरादेखि अनभिज्ञ थिएँ। १२ कक्षाको अन्ततिरको कुरा हो, अचानक मेरो सपना साकार बन्ने अवसर सामु आयो। उहाँको हृदयको अति नजिक, उहाँद्वारा निर्मित विश्वविद्यालयमा पढ्ने अवसर थियो, जसको माध्यम हजारौँ अन्य अवसरहरू पनि प्राप्त हुने निश्चित थियो। मैले अबेर नगरी कदम अघि बढाएँ। मलाई त्यस विश्वविद्यालयमा पढ्ने अवसर प्राप्त नभए पनि कुनै आपत्ति थिएन। कारण प्रवेश–परीक्षा लेख्न एकपल्ट प्रशान्ति जाने अनि मेरो तृष्णा मेटिने अवसर त अवश्य प्राप्त हुने थियो।

समय नजिक आइसकेको थियो। प्रवेश परीक्षाको लागि निमन्त्रणा पत्र पनि प्राप्त भइसकेको थियो। सिंहासनमा विराजमान सम्राटको दर्शन गर्ने उत्सुकताले मन खूब विचलित थियो। अचानक यस्तो हुरी चल्यो, जसले मेरा सबै सपनाहरू उडाइलग्यो। यस्तो बादल लाग्यो जसको वर्षाले मेरा सबै इच्छाहरू धोइदियो, यस्तो अन्धकार छायो जसले मेरा नयनहरूलाई सधैँका निम्ति त्यो दृश्य देख्नबाट वञ्चित गरायो। जगतसम्राटले आफ्नो मनुष्य चोला त्यागेर अनन्तमा विलीन हुने निर्णय गर्नु भएछ। गह्रौँ मन लिएर म राजधानी आइपुगेँ। तर अभाग्यवश यहाँ मेरो यात्राको अन्त हुन पाएन। यद्यपि मेरो यात्रामा प्रगति भने अवश्य भएको थियो। खाली सिंहासनमा उहाँको उपस्थिति कल्पना मात्र गर्न पाएको म त्यस दिन यस्तो ठाउँमा उभिएको थिएँ जहाँबाट करोडौँले आफ्नै नयनद्वारा मैले देख्न नपाएर तडपिरहेको त्यो भव्य दृश्य देखेको थिएँ। मेरो मनको खिन्नता बुझेर होला, सम्राट स्वयम् विराजमान हुनुभएको सिंहासन, मलाई त्यही यथार्थको प्रमाण दिन मेरो सामु प्रस्तुत हुनु भएको थियो। त्यसले सायद मलाई भन्न खोजिरहेको थियो कि मैले देख्न नपाए के भयो त, त्यसले प्राप्त गरेको महत्त्व र स्थान नै यस तथ्यको प्रमाण थियो कि कुनै समय सम्राट स्वयम् त्यसमा विराजमान हुनुहुन्थ्यो। मैले मेरो मनको अपूर्ण इच्छा दबाएर यो पुण्यभूमिमा उपस्थित हुने सौभाग्य प्राप्त भएकोमा नै मन बुझाई विश्वविद्यालयको प्रवेश परीक्षा दिएँ।

म बिस्तारै मेरो इच्छाको निर्मम हत्या गर्न लागिरहेको थिएँ – आशाको सबै दीपक निभेको देखेर। तर मेरो लागि जगत सम्राटको आफ्नै योजना रहेछ क्यार। आकाशमा बिस्तारै ध्रुव तारा देखा पर्न थाल्यो – मेरो यात्राको गन्तव्यतर्फ मलाई मार्गदर्शन गर्न। मेरो यात्रा अवश्य पूर्ण भएको थिएन तर अकालमै यसको अन्त गर्नु पनि मेरो अधिकार थिएन। कारण, न त यो यात्रा मेरो स्वेच्छा थियो, न त मेरो परिश्रम नै। म त केवल निमित्त मात्र थिएँ। यो यात्रा त यस संसारमा मैले निर्वाह गर्नुपर्ने एउटा कर्तव्य थियो।

अब उसो सम्राटका निम्ति सिंहासन दरवार भवनमा होइन तर हृदय दरवारमा सजाउनुपर्ने रहेछ। सिंहासन काठको होइन, प्रेम र समर्पणद्वारा निर्मित हुनुपर्ने रहेछ। कारण, सम्राटको राज्य सम्पूर्ण सृष्टि हो, उहाँको राजधानी प्रत्येक हृदय नै हो अनि उहाँको राज्य समयको अन्तसम्म चलिरहनेछ। मेरो यात्राको अन्त त्यस दिन हुनेछ, जुन दिन म उहाँलाई मेरो हृदय सिंहासनमा विराजमान भएको मेरो आन्तरिक नेत्रद्वारा देख्नेछु।