कविता  /  Poem

एउटा कविता लेख्न मन लाग्यो

कति मीठो चराहरूको चिप चिप
शीतल हावाको सुस्त गति
सूर्य उदाएको छैन तर
धर्तीले घुम्टो फ्याकिसकिन
आह उस्तै रमाएको बिहानीमा
तरंग जोशिलो शरीर फुत्त फ्याँकेर
खुला आकाश निहाल्दै आङ ताने
हिजो बेलुका आफैले दुहेको
माली गाईको बाक्लो दूधमा उमालेको
त्यै पारी कमानबाट ल्याएको हाते रंग
सुरुप्प पार्ने जमर्को कसी
अनुहारमा झ्याम्म चिसो पानी छ्यापेको
झसङ्ग भएर विउँझिएछु
अरे कत्ति छिटो १० बजिसकेछ

बाहिर सूर्यको उग्र तापले
धर्तीको आँसु पनि सुकाई सकेछ
उड्ने र गुड्नेको ध्वनि प्रकोपले
वाणी नै शुन्य बनाई सकेछ
अल्छे शरीरलाई निद्रा आउँदा
झण्डै गाउँमा भाले बास्छ
जेनतेन छ घण्टामा
धन्न निद्रा चै पुगेछ
चियाको चुस्की पसिनामा पुरेर
भौतारिन्छ ज्यान चिसो खोज्न

मान्छेको यो घुइँचोमा अब
तैरिनु छ धेरै पर
किनेको मुस्कान अनि मागेको स्नेह
आत्मसाथ गरी यो दिन बिताउनु छ
लाखौंको बीच अब एक्लो भई
रमाउन मैले अझ सिक्नु छ

तर आज
त्यो जीवनलाई अलिकति पर धकेली
आफूलाई आफ्नै अघि ठिङ्ग उभ्याई
मनको गुनासो सुनाउन मन लाग्यो
आज मलाई एउटा कविता लेख्न मन लाग्यो