कविता  /  Poem

प्रश्न मेरो मनसँग

प्रश्न मेरो मनसँग —
आखिर तँ के चाहन्छस्?
खुशी? शान्ति? आनन्द?
शायद होइन, किनकि —
हरेक बिहान जब म ब्युँझन्छु
जिम्मेवारीहरू आँखा अघि झल्किन्छन्
अबोध मुस्कानले ऊर्जा दिन्छ
पेशाको पोशाकले शरीर ढाक्छु
त्यहाँ न शान्तिको खोजि छ
न त आनन्दको आशा
ठूलो साँझपछि भने पाइन्छ
अर्ध-पूर्णताको सुस्केरामा रिमलिएको
क्षितिज छुने प्रयासको थकान
खुइय…

अकस्मात् शान्तिको दह्रिलो झरी
लक्ष्यहीनताको अशेष मरुभूमिमा वर्षँदा
झल्याँस्स निद्रा खुल्छ
आत्माको बोक्रा उक्किएर
मस्तिष्कको बोझ हट्टिँदा
लक्ष्यको खोजि हुन्छ
जीवनको प्रारम्भ हुन्छ
प्रशान्तिले मन प्रेरित हुन्छ
ईश्वरको स्वरूप प्रष्ट हुन्छ
जन्मको अर्थ खुल्ने दिशामा
एउटा दह्रो पाइला सर्छ॥