कविता  /  Poem

प्रेम कस्तो कठोर

कस्ले भन्यो प्रेम कोमल हुन्छ?
मैले प्रेमलाई हिमचुली जस्तो
बज्र कठोर स्वरूपमा देखेको छु
छिचोल्न चाहने हरू सबैलाई
कक्र्याएर निस्वास पारेको
प्रत्यक्ष देखेको छु

तर आफ्ना प्रियहरू धेरै तल
समतलमै भए पनि
बिस्तारै आफै पग्लेर
जीवन उमार्ने तरल भई
आफै चुहिएर बगेको देखेको छु

बगाउला बर्खे भेलले
सुकाउला लामो खडेरीले
तर हिम स्रोतको बेग्लै धैर्यता छ
त्यो प्रेम निरन्तर छ, दिगो छ
त्यो प्रेममा जीवन फुलेको छ
त्यो प्रेममा संसार अडेको छ