कविता  /  Poem

प्रेम-लीलाको शतकबाट साक्षात्कारको एक पल

हृदयको चोखो प्रेम गोड्मेल गरी सङ्गालेर
बटुलेर अनि जोगाएर एउटा आकार दिन पाएँ
म तिम्रै सृजना गर्थीँ
मस्तिष्कको ठुलो आवाज बन्द गरी
यो मुटुको स्पन्दन, यो रक्त सञ्चार
श्वास अनि प्रश्वासका ससाना आहट सुन्न सकेँ
म तिम्रै गीतको सुर पछ्रिन्थीँ

हुकाइदिएको शरीरमा
सिकाइदिएको ज्ञानले
पकाइदिएको अन्न जलाई
पस्किएको विकल्पमध्ये चुनेका
दुई-चार सम्भावनालाई आकार दिएको
आफ्नो भीषण योगदान भुली
एक नजर उठाएको भए
जतातेँ विराजमान तिम्रो
एक झलक त दर्शन पाउँथीँ
हे प्राणनाथ!

प्रेमलीलाको शतकबाट
साक्षात्कारको एक पल
तिम्रे प्रेम सागरबाट
एक अञ्जुली अमृत उठाई
पिउन चाहन्छु, जिउन चाहन्छु
अनि विलीन चाहन्छु, स्वयंलाई गुमाई।