कविता  /  Poem

शून्य छैन यहाँ

सृष्टि शून्यबाट भएको थियो
त्यसैले त यहाँ
उज्यालो छ अनि अँध्यारो पनि
धर्ती छ साथै आकाश पनि
पदार्थ छ अनि अपदार्थ पनि
यस सत्यको आभाष
आह! कत्ति मीठो

तर… झल्याँस्स स्मरण भयो
मीठो छ यहाँ तर तीतो पनि त छ
मेरो मनलाई च्वास्सै पार्ने तीतो
यसै सत्यको सहयात्री अर्को सत्य —
सृष्टि चलाइराख्न होला शायद
हे दैव
उज्यालो र अँध्यारो एकैसाथ पाइन्न रहेछ

अहिले म अन्धकारमा डुबेको छु
कुनै रोशनी देख्दिन, निष्पट्ट छ
कर्तव्य छ, अधिकार छैन
नुनिलो छ, गुलियो बिर्सिसकें
तर विहानी अवश्य आउनेछ

प्रतिक्षा छ त्यो कोमल बिहानीको ।