कविता  /  Poem

चाड़ले बोकी ल्याएका स्मृतिहरू

सूर्यको कोमल स्पर्शले विचलित भएर
निद्रा वरालिन थाल्यो।
सङ्गीतको सुन्दर सरस लयमा
मन विह्वल भई उठ्यो।
वरिपरि भ्रातृत्वको न्यानोपन महसूस भयो
मनको भित्री तहबाट खुशी जग्मगाएर उठ्यो
आजको बिहान सधैँभन्दा धेरै धेरै मनोरम थियो
अचम्भित मनमा अचानक यथार्थको बोध भयो
आज विजय दशमी।

स्वतन्त्र मन अशेष नभमा उड्न थाल्यो
धेरै माथि–माथि धेरै पर–पर
विगतका सबै खुशी बटुलेर ल्याउन
आमा–बाबाको आशीर्वाद हृदय सन्दुकमा
सधैँभरि लुकाइराख्न

यो मन त्यसै–त्यसै उड़िरहेछ।

मायाका अति सुन्दर रङ्गहरूले रङ्गिएको पोशाक
उत्साहले ताराझैँ चम्किएको मन ढाक्न
आमाले जतनसाथ राखिदिएको ठाउँबाट
उठाइ ल्याउन
यो मन उड़िरहेको छ।

दाजु–भाइ, दिदी–बहिनीहरूसँग झगड़ा गर्दै
भखरै सिक्दै गरेको गणितले भ्याइ–नभ्याई
दक्षिणामा पाएका रुपियाँ गनेको
स्मृतिका तीता–मिठा क्षणहरू बटुल्न
यो मन उड़िरहेको छ।

दिदी–बहिनीले कलश लिएर
माइतीहरूलाई स्नेहको बलियो डोरीले
तीन फेरा छेकेको अनि
निधारमा चम्किलो सप्तरङ्गी टीका लगाएर
घाँटीमा सयपत्री फूलको माला पहिऱ्याई
दहीको सगुन पिलाएको क्षण
आँखाअघि सजीव उभ्याउन
यो मन उड़िरहेको छ।

बढ़िरहेको छ गीत यो मनको प्रत्येक क्षण
अझै कति बढ्ने हो थाहा छैन
थाम्न निकै गाह्रो छ
गङ्गोत्रीको श्रोत फुट्दैछ
तयार छ यो मन यात्राको निम्ति
अचल पहाड़लाई चिर्दै
दुवै किनारमा ठोक्किँदै, लड्दै, पढ्दै
आफ्नो बाटो आफै बनाउँदै
निरन्तर अघि बढ़िरहून्
गन्तव्य स्पष्ट छ
वृहत, गहिरो, शान्त समुद्र
जहाँ सङ्घर्षको अस्तित्व छैन
अतृप्तिको राज छैन
अनि मलाई पूर्ण विश्वास छ
म त्यहाँ अवश्य पुग्नेछु।