कविता  /  Poem

तिम्रो पहिलो जन्मदिन

एउटा हिउँदो एउटा वर्षा
एउटा बसन्त अनि एउटा शिशिर
एउटा सानो मुटुमा अटाउने माया
तीखो स्वरमा अरूले ठिम्याउन नसक्ने
आमा र बाबाको पुकार
हजुरबा हजुरआमाको उज्यालो मुहार
हजुरी र सानीको प्याउले छोरो
बड़ा बड़ी, काका काकी
मामा र फुपुहरुको स्नेह
Alexa को सुस्त संगीत

साच्चै भनौं?
तिमीले बाल लीलाको नौलो आभाष
आफू अबोध भए पनि अरु सबैलाई
लचेप्रै पारिसक्यौ
तर,
पिक्चर अभी बाकी है मेरे लाल
मौसम परिवर्तनले ल्याउने हैजा झैं
अझ धेरै फैलिने उत्साहको लहर बोकी
यो दुनियाँलाई अघि बढाउनु छ
तिमीले अझ धेरै बाँच्नु छ

तिमी तिम्रो अबोध निद्रामा
सबैलाई जगाउँदै गर
आज यो दुई शब्द लेख्दैछु
कुनै दिन बुझ्ने मस्तिष्कले
मुसुक्क मुस्काइदिनु
अनेक वर्षको लीला रचाई सकेर
एक निमेषको आभाष दिलाउने
एक वर्ष पूर्ण भएको यो दिन
आज तिम्रो पहिलो जन्मदिन