कविता  /  Poem

तीर्थ

तपाईंबाट उम्रिएकाे म
तपाईंको न्यानो काख छोडेर
म तीर्थ खोज्दै कता जाउँ?

मेरो आगमन अनि अस्तित्वको
एक एक क्षण सयौं पीडा थपि
मेरो एक अबोध मुस्कानमा रमाउने
तपाईंको अति कोमल हृदय छोडी
म तीर्थ खोज्दै कता जाउँ?

मेरो जीवनको लक्ष्य देखाउन
आफ्नु जीवनको गति त्यागी
मलाई नै जीवनको गन्तव्य ठानी सकेकी
तपाईंको अतुल्य बलिदान बिर्सी
म तीर्थ खोज्दै कता जाउँ?

तपाईं नै मेरी ममतामयी माता
तपाईं नै मेरो तीर्थ।