कविता  /  Poem

यात्रा

सजाउन सकिन तिमीलाई
मेरो यो आँखाको नानीमा
समेट्न सकिन तिमीलाई
हृदयको भित्री कोठामा
न नै लुकाउन सकें आफूलाई
तिम्रो मायाको छहारीमा।

कसरी अंकित गरौं म तोकेर
मेरो निम्ति तिमी “विशेष” हौ भनी
जब यहाँ वास्तविकता
बेग्लै बनिसकेको छ
मेरो जीवनमा तिम्रो अस्तित्व मेटिएर
तिमी त म मा विलीन भइसकेछौ।

अब त मात्र जिउनु छ मलाई
जीवनको अर्थ तिमी खोलिदिनु

अँध्यारो गोरेटो नियाल्न सक्ने
तिमी मेरो दृष्टि बनिदिनु
हृदयको ढुकढुकी कायम राख्ने
अशेष इन्धन बनिदिनु
जीवनको चर्को घाममा तिमी
शीतल पवन भै नाचिदिनु।

अब म मरे, तिमी मरिदिनु
जीवनको शेष पन्नामा
एउटै अस्तित्व छापिदिनु
कसैले परिचय मागे हाम्रो
आत्माको घुम्टो उघारीदिनु
शून्यको गहिराई देखाइदिनु
चकमन्न चित्कार सुनाइदिनु
अनन्तमा विलुप्त भइदिनु।।